हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी जीवितै रहेको दाबी इजरायली मिडियाले गरेको छ । द जेरुसेलम पोष्टको समाचार अनुसार, उनको भिडियो समेत सार्वजनिक गर्न लागिएको छ ।
इजरायली खुफिया इकाइहरूले जोशी जीवित रहेको पुष्टि गर्दै भिडियो सार्वजनिक गर्न लागेको होस्टेज फ्यामिली फोरमले बुधबार जानकारी दिएको हो ।
विपिन जोशी गाजामा सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि अपहरणमा परेका थिए। उनले आफ्नै कोठामा हमासले फ्याँकेका दुई ग्रिनेडमध्ये एउटा बाहिर फ्याँकेर आफ्ना साथीहरूको ज्यान जोगाएका थिए ।
अपहरणपश्चात एकपटक उनी घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेको दाबी गरिएको थियो, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन ।
हाल हमास र इजरायलबीच इजिप्टमा वार्ता भइरहेको छ। वार्ता सफल भएमा गाजामा युद्धविराम हुने र बन्धकहरू रिहा हुने बताइएको छ ।
अमेरिकाले सबै बन्धकको रिहाइलाई पहिलो सर्तका रूपमा अघि सारेको छ भने हमासले इजरायलले थप आक्रमण नगर्ने सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
भिडियाे सामाग्री