जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा नयाँ सरकार गठनको दाबीलाई सङ्घीयतामाथि प्रहार भएको आरोप लगाएका छन् । उनले आफूलाई ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक अधिकार रहेको बताउँदै, प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गरेको भन्ने समाचार भ्रामक र तथ्यविहीन भएको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री सिंहले शनिबार रातोपाटीसँग कुरा गर्दै भने, “सङ्घीयतामाथि नै प्रहार हुने गरी मेरो पार्टीसहितका तीन दलले काम गरेका छन् । हतार–हतारमा गरिएको यस्तो कदमलाई राजनीति भनिँदैन ।”
गणतन्त्र स्थापनाका लागि आफू अग्रपङ्तिमा रहेर आन्दोलन गरेको उल्लेख गर्दै सिंहले सङ्घीयता खारेज गर्ने कुरा सोच्नेसम्म नहुने बताए । उनका अनुसार अहिले भइरहेका गतिविधि ‘राजनीतिक अस्थिरता र व्यक्तिगत स्वार्थ’ ले प्रेरित षड्यन्त्र हुन् ।
मुख्यमन्त्री सिंहले थपे, “मैले राजीनामा दिएपछि मात्र प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नुहुन्छ । त्यसअघि गरिएको कुनै पनि दाबी प्रक्रियागत रूपमा अवैध छ ।”
संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि उनले असोज २८ गते नै प्रदेशसभामा विश्वासको मत लिने तयारी रहेको जनाए । उनले भने, “जनताको जनादेश नै मेरो शक्ति हो, म संवैधानिक बाटोबाट अघि बढ्छु ।”
सिंहले असोज २८ गते बस्ने प्रदेशसभा बैठकमा दलहरूले गरेको ‘राजनीतिक खेल’ र ‘भ्रम फैलाउने अभियान’ को सम्पूर्ण विवरण सार्वजनिक गर्ने बताए ।