मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (मंगलबार) विश्वासको मत लिँदैछन् । आफ्नै दल जनमत पार्टीसहित सत्ता सहयात्री दलहरूले समर्थन फिर्ता लिएपछि सिंहले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत सामना गर्न लागेका हुन् ।
जेन–जी आन्दोलन चर्किएपछि गत भदौ २४ गते राजीनामा दिने घोषणा गरेका मुख्यमन्त्री सिंहले तरल राजनीतिक अवस्थाको कारण देखाउँदै आफ्नै सरकारको निरन्तरता खोजेका थिए । त्यसपछि सत्ता साझेदार दलहरूले एकपछि अर्को गर्दै समर्थन फिर्ता लिएका थिए ।
सुरुवातमा जनमत पार्टीले समर्थन फिर्ता लिएपछि क्रमशः नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सिंह नेतृत्वको सरकारबाट बाहिरिएका थिए ।
मुख्यमन्त्री सिंहले विश्वासको मतको सामना गर्ने अडान लिएपछि उनको आग्रहमा प्रदेशसभा सचिवालयले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।
यसअघि एक साताअघि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यसहित कांग्रेस, एमाले र जनमत पार्टीले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र बुझाइसकेका छन् । उता लोसपाले आफ्नै नेतृत्वमा कांग्रेस र एमालेबाहेकका दलहरू मिलाएर वैकल्पिक सरकार बनाउने प्रयास गरिरहेको छ ।
मुख्यमन्त्री सिंह भने अझै विश्वासको मत प्राप्त हुनेमा आशावादी देखिएका छन् ।