बारा । बारा प्रहरीले एक लाखभन्दा बढी मूल्यका प्रतिबन्धित पटाका बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा मंगलवार चेकजाँचका क्रममा उक्त पटाका बरामद गरेको हो ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसको डिकीभित्र लुकाइछिपाइ राखिएका विभिन्न किसिमका अबैध पटाका भेटिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पटाकाको अन्दाजी मूल्य एक लाख दुई हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिनुभयो ।
प्रवक्ता पण्डितका अनुसार, बरामद पटाका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।