सप्तरी | सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनीस्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका–१० सिस्वाकी ४० वर्षीया विमलादेवी यादवको बिहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
बुधबार साँझ सोही ठाउँका ३५ वर्षीय प्रमोद यादवले चलाइराखेको स ९ प ९०३९ नम्बरको मोटरसाइकल सिस्वाबाट राजविराजतर्फ जाँदै गर्दा जमुनीस्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार विमलादेवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् ।
घाइते यादवलाई प्रारम्भिक उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि विराटनगर पठाइए पनि अवस्था गम्भीर बन्दै गएपछि उपचार खर्चको अभावमा परिवारजनले पुनः राजविराज अस्पताल फर्काएका थिए। अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक प्रमोद यादवको उपचार भइरहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।