रौतहट | फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी रौतहटमा युवा मतदाताको संख्या दिनहुँ बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिँदा दिनहुँ सयौंको संख्यामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकृत छोटेलाल दाशका अनुसार जेनजी पुस्ताले मतदाता नामावलीमा बढि चासो देखाइरहेका छन् । सरकारले युवा मतदातालाई आफ्नो मताधिकार अधिक प्रयोग गर्न पाउने गरी अध्यादेश जारी गरेसँगै मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाइएको हो ।
मतदाता नामावली संकलन कार्य असोज १० गतेदेखि सुरु भई आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका तथ्यांक अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता २ लाख २७ हजार २ सय २९, महिला मतदाता १ लाख ८८ हजार २ सय २५ र तेस्रो लिंगी मतदाता एक जना गरी कुल ४ लाख १५ हजार ४ सय ५५ मतदाता थिए ।
२०८२ फाल्गुन २१ गते निर्वाचनको मिति तोकिँदासम्म रौतहटमा मतदाता संख्या ४ लाख २१ हजार ६ सय ९३ पुगेको छ । २०७९ को निर्वाचनको तुलनामा ६ हजार २ सय ३८ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिनुभयो ।
असोज १० देखि २९ गतेसम्म ५ सय ३१ पुरुष र २ सय ८५ महिला गरी कुल ८ सय १६ मतदाता थपिएका थिए । दसैं बिदाका कारण मतदाता नामावली संकलन कार्य केही समय बन्द रह्यो भने बाढीका कारण पनि केही दिन प्रभावित भएको थियो ।
जिल्ला निर्वाचन अधिकृत दाशका अनुसार १६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने छन् । मतदाता नामावली दर्ताको व्यवस्था हाल जिल्लाको मुख्य निर्वाचन कार्यालयबाट मात्र हुने भएकाले जिल्लाभरका नागरिकलाई सदरमुकाम गौरस्थित कार्यालयसम्म पुग्नुपर्ने भएकाले असुविधा भइरहेको छ ।
दुर्गाभगवती–२ का अनिश कुमार महतोका अनुसार, यदि सरकारले इलाका प्रशासन कार्यालय र प्रत्येक स्थानीय तहबाट पनि मतदाता नामावली सङ्कलनको व्यवस्था मिलाएको भए फागुन २१ गतेको निर्वाचनमा जेनजी पुस्ताको उल्लेख्य सहभागिता हुने थियो ।