सर्लाही | सर्लाहीको धनकौल गाउँपालिका–३ की १२ वर्षीया सोनीकुमारी साह मनुष्मारा खोलाले बगाएर बेपत्ता भएकी छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईका अनुसार साह बिहीबार दिउँसो खोलामा लुगा धुन र नुहाउन गएकी थिइन् । सोही क्रममा अचानक पानीको बहाव बढेपछि उनी खोलाले बगाएर बेपत्ता भएकी हुन् ।
डिएसपी भट्टराईले शुक्रबार बिहानैदेखि बालिकाको खोजी कार्य जारी रहेको बताए । उनका अनुसार बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बलको बर्दीवासस्थित पृतनाबाट तालिमप्राप्त गोताखोर टोली पनि मगाइएको छ ।
स्थानीय प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।