महोत्तरी | महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा जीवित नवजात शिशु फेला परेको छ ।
बिहीबार बिहान भार्गेश्वर पोखरी नजिकको खेतमा करिब १५–१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
डीएसपी भट्टका अनुसार शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा भेटिएका थिए । स्थानीयवासी घाँस काट्न जाँदा खेतमा शिशु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ । अस्पतालका चिकित्सकका अनुसार शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित अवस्थामा छन् ।
शिशु कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।