सर्लाही | सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्र मानिने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चार महिनापछि बस सञ्चालन हुन थालेको छ ।
सडक सञ्जालसँग नजोडिएको नारायणखोलामा वर्षायामको पानी रोकिएसँगै खोलाको बाटो मर्मत गरी बस सञ्चालन थालिएको हो । वर्षायाम सुरु भएसँगै खोलामा बाढी आएपछि गत मध्य जेठदेखि बस सञ्चालन हुन छाडेको थियो ।
लालबन्दी–१४ को वडा कार्यालय र बस व्यवसायीको समन्वयमा करिब एक हप्ता लगाएर जेसीबी प्रयोग गरी खोलामा बाटो बनाइयो । त्यसपछि गएको बुधबारदेखि बस सञ्चालन हुन थालेको वडा अध्यक्ष एवं बस व्यवसायी छेनामसिंह घिसिङले जानकारी दिनुभयो ।
भौगोलिक हिसाबले विकट र चुरे क्षेत्र पर्ने नारायणखोलामा पश्चिमी भेगमा डाइनीखोला र पूर्वी भेगमा लखन्देही खोला भएर आवतजावत गर्नुपर्ने हुन्छ । वडाध्यक्ष घिसिङका अनुसार, लालबन्दी बजारबाट लखन्देही खोला हुँदै सिन्धुलीको मरिणसम्म एउटा, नारायणखोला कामिटारसम्म अर्को, र डाइनीखोला तर्फबाट नारायणखोलाकै मगनीदोभानसम्म तेस्रो गरी तीनवटा बस सञ्चालनमा छन् ।
घिसिङले भन्नुभयो, “अब हिउँदयामभर खोलाको बगरबाटै भएपनि सबै गाडी चल्छन्। वर्षायाम सुरु भएपछि भने फेरि उस्तै समस्या दोहोरिन्छ ।”
प्रमुख चाड तिहारको मुखमा बस सञ्चालन सुरु भएपछि नारायणखोलाका स्थानीय खुसी भएका छन् । भारी वर्षा हुँदा दसैँमा कुनै पनि सवारी साधन चल्न नपाउँदा स्थानीयले आफन्तकहाँ आउजाउ गर्न कठिनाइ भोगेका थिए ।
अब बस सञ्चालन भएपछि सिन्धुलीको मरिणदेखिका स्थानीय दैनिकी उपभोग्य वस्तु र खाद्यान्न खरिद गर्न लालबन्दी बजार पुग्न सक्ने भएका छन् । लालबन्दी बजारदेखि लालबन्दी–१३ पत्थरकोट छेडासम्म सडक भए पनि त्यहाँदेखि उत्तर नारायणखोलातर्फ जान लखन्देही र डाइनी खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।
हिउँदमा खोलाबाट बस, बोलेरो, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुने भए पनि वर्षायाममा बाढी आएर पैदल हिँड्नसमेत नसकिने हुँदा नारायणखोलाका स्थानीयले औषधि उपचारसमेत नपाउने समस्या आउँथ्यो । स्थानीय लालबहादुर पाख्रिनका अनुसार, गाडी चल्न थालेपछि दैनिक उपभोग्य वस्तु किन्न र बिरामी पर्दा उपचारका लागि बजार आउजाउ गर्न सहज भएको छ ।