महोत्तरी । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आजदेखि यस वर्षको दीपावली (तिहार) पर्व सुरु हुँदैछ । मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म चल्ने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाउने तयारी गरिएको छ ।
मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजको दिन धातुका नयाँ समान किनेर धनधान्यकी देवी लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइँदैछ । सामान्यतया पाँच दिनसम्म मनाइने यो पर्व यसपालि तिथिको भोग घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।
आज अपराह्न १३ः२३ पछि त्रयोदशी तिथि लाग्ने भएकाले आज साँझ ‘धनतेरस’ मनाइने मैथिल कर्मकाण्डका पण्डितहरूको भनाइ छ । अपराह्नसम्म द्वादशी तिथि रहँदै त्रयोदशी सुरु हुने भएकाले यही दिन लक्ष्मीको आराधना गरेर धनतेरस मनाइने चलन रहेको बर्दिबास–२ का पण्डित दिनेशकुमार झाले बताउनुभयो ।
मिथिलामा चाडपर्व र तिथि निर्णय गर्न विद्यापति र मिथिला पञ्चाङ्गको आधार लिने परम्परा छ । यसपालि तिथिको भिन्नताका कारण कागपूजा भोलि आइतबार, लक्ष्मीपूजा सोमबार र गाईपूजा मङ्गलबार पर्ने भएको छ । सामान्यतया त्रयोदशीका दिन धनतेरस र कागपूजा, औँसीमा लक्ष्मीपूजा तथा गाईपूजा गरिने चलन भए पनि यसपालि तिथिको फरकका कारण एक–दुई दिन अघिपछि पर्न गएको हो ।
पण्डित झाका अनुसार धनतेरसको रात्रिकाल (सन्ध्याकाल) मा धातुका नयाँ वस्तु किनेर पूजा गर्ने शुभ समय मानिन्छ । यस दिन घर–घरमा उज्याला बत्ती बाल्दै नयाँ किनिएका धातुका भाँडाकुडा तथा गहनाको पूजा गरेर दीपावली पर्वको प्रारम्भ गरिन्छ ।
धनतेरससँगै धन्वन्तरी जयन्ती र काक पूजा भोलि आइतबार मनाइने छ भने औँसीको रातमा लक्ष्मीपूजा सोमबार र गाईपूजा मङ्गलबार हुनेछ । लक्ष्मीपूजा सन्ध्याकालदेखि सुरु गरेर रातभर गरिन्छ भने गाईपूजा बिहानको उज्यालोमा गर्ने परम्परा रहेको छ ।
दीपावली पर्व धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने पर्व भएकाले पहिलो दिन नै नयाँ वस्तु किनेर लक्ष्मीलाई खुसी पार्ने परम्परा मिथिलामा प्राचीनकालदेखि रहँदै आएको छ । सन्ध्याकालमा दीप प्रज्वलनसहित धनतेरसको पूजा गरेर दीपावली औपचारिक रूपमा सुरु गरिन्छ ।
यस अवसरमा मिथिलाका बजारहरू तामा, पित्तल, काँस र सुनचाँदीका भाँडाकुडा तथा गहनाले झकीझकाउ बनेका छन् । स्थानीय जनविश्वास अनुसार आज किनिएको धातुका वस्तु शुभफलदायी, टिकाउ र नाफामूलक हुने मान्यता छ ।