सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको विस्तार कार्य नौ महिना बितिसक्दा पनि गति लिन सकेको छैन । गत वर्ष पुस १७ गते सर्लाही, महोत्तरी र धनुषामा राजमार्ग विस्तारको काम औपचारिक रूपमा सुरु गरिएको थियो । तर, हालसम्म करिब १० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन ।
रौतहट र बाराका खण्डमा भने अझै ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । कमला नदीदेखि पथलैया सम्मको करिब १३० किलोमिटर लम्बाइको राजमार्ग विस्तारका काम सुस्त हुनुको कारण जङ्गल क्षेत्रका रुख कटानको अनुमति नपाइनु रहेको बताइएको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासका अनुसार रुख कटानको अनुमति प्रक्रिया लामो र जटिल भएकाले निर्माण कार्य प्रभावित भएको हो । उहाँले भन्नुभयो, “जङ्गल क्षेत्रमा रुख कटानको अनुमति नपाएकै कारण कामले गति लिन सकेको छैन । रुख नभएका क्षेत्रमा मात्रै केही प्रारम्भिक काम भएको छ ।”
हाल सर्लाही, महोत्तरी र धनुषा जिल्लामा जेसिभी प्रयोग गरेर माटो सम्याउने, कलभर्ट निर्माण, र केही स्थानमा पुल विस्तारको काम भइरहेको छ । चाडपर्व सकिएपछि काममा गति आउने आयोजना प्रमुख दासले विश्वास व्यक्त गर्नुभयो ।
सडक विभागले रौतहट र बारा खण्डमा ठेक्का प्रक्रिया पूरा गर्न तथा कार्य अघि बढाउनका लागि छुट्टै टोली परिचालन गर्ने तयारी गरेको छ । सर्लाहीतर्फ सागरनाथ चोकमा कलभर्ट निर्माण, फूलजोर, कालिन्जोर, लखन्देही र चापिनी खोलामा पुल विस्तार कार्य भइरहेको छ । त्यसैगरी लालबन्दी–बस्तीपुर क्षेत्रमा सडक क्षेत्राधिकारभित्र माटो भर्ने र सडक चौडा गर्ने काम जारी छ ।
विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस राजमार्गलाई एसियाली मापदण्डअनुसार सहरी तथा बजार क्षेत्रमा छ लेन (३१ मिटर चौडा) र अन्य क्षेत्रमा ‘मेडियन’ सहित चार लेन (१८ मिटर चौडा) मा विस्तार गर्ने लक्ष्य रहेको छ । तर, रुख कटान, विद्युत् पोल र टेलिफोनका तार हटाउने कार्य ढिलाइका कारण परियोजना चुनौतीपूर्ण बनेको छ ।