सर्लाही । दसैँ–तिहार जस्ता नेपाली समाजका मुख्य चाडपर्वका समयमा सर्लाहीका किसान धान बाली भित्र्याउने काममा व्यस्त देखिएका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार चाँडो पाक्ने (अर्ली भेराइटी) धान धमाधम भित्र्याउने समय आएको छ। तिहार र छठपर्वको रौनक छाइरहेका बेला खेतका धानबाली पाकिसकेका किसान harvesting (काट्ने र झार्ने) कार्यमा जुटिरहेका छन्। साउनमा खडेरी परेर ढिलो गरी रोपिएको धानबाली भने अहिले भर्खर पसाउन थालेको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार जिल्लामा अहिलेबाट मङ्सिरसम्म पाक्ने धानबाली लगाइएको छ । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा सीमित रहेका क्षेत्रमा लगाइएको चाँडो पाक्ने जातको धान काट्ने बेला आएको हो, तर अधिकांश किसानले मङ्सिरतिर पाक्ने जात लगाएका छन् ।”
कुशवाहाका अनुसार आकासे पानीमा निर्भर चुरेवर्ती क्षेत्रमा किसानले प्रायः चाँडो पाक्ने जात रोप्ने गरेका छन् । लालबन्दी नगरपालिका रानीगञ्जका किसान गोपाल अधिकारीका अनुसार, “हाम्रो क्षेत्रमा अधिकांश किसान अहिले धमाधम धान काट्न व्यस्त छन् ।”
धान रोप्ने समयमा खडेरीले समस्या पारे पनि त्यसपछि समयमा पानी परेकाले धान उत्पादन सन्तोषजनक रहेको किसानले बताएका छन् । अधिकारीका अनुसार अहिले खेत–खेतमा मेसिन (हार्भेस्टर) पुगेकाले किसानलाई बाली भित्र्याउन सजिलो भएको छ ।
सर्लाहीमा बागमती सिँचाइ आयोजना, विभिन्न खोलाको पानी र विद्युतीय सिँचाइ प्रणालीका कारण कतिपय क्षेत्रमा ढिलो पाक्ने धान रोपिएको छ ।
ब्रह्मपुरी गाउँपालिका–६ का किसान फकिरा रायका अनुसार, “दक्षिणी भेगमा धेरै किसानले ढिलो पाक्ने जात रोपेकाले छठपर्वपछि मात्रै धान काट्ने काम सुरु हुनेछ ।”
मध्य असोजमा परेको अत्यधिक वर्षाका कारण दक्षिणी सर्लाहीका केही क्षेत्र डुबानमा परेको र त्यसले उत्पादनमा असर पार्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।