बारा | बाराको आदर्श कोतवाल गाउँपालिकामा जेन–जी युवाहरूले १४ बुँदे मागसहित सुरु गरेको तालाबन्दी आठौँ दिनसम्म पनि जारी रहेको छ । माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने घोषणा गर्दै आन्दोलनकारी युवाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन जारी राखेका छन् ।
गत बिहीबार युवाहरूले जिल्ला सदरमुकाम कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
आन्दोलनका अगुवा दिवेश कुमार सिंहका अनुसार, आन्दोलनपछि गाउँपालिकाका केही कर्मचारीहरूसँग सकारात्मक वार्ता भए पनि गाउँपालिका अध्यक्ष जवाहर साह र उपाध्यक्ष दुबै सम्पर्कविहीन रहेकाले समस्या समाधान हुन सकेको छैन ।
“अध्यक्ष स्वयं वार्तामा आएर माग सम्बोधन नगरेसम्म तालाबन्दी खुल्दैन,” सिंहले भने ।
जेन–जी युवाहरूले अघि सारेका प्रमुख मागहरूमा —
- सबै वडामा स्थायी स्ट्रिट लाइट जडान,
- विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै उपभोक्ता समिति गठन,
- सामाजिक सुरक्षा भत्ता घरमै वितरण,
- गाउँसभा जनसहभागितामूलक बनाउने,
- किसानका बाली क्षतिपूर्तिको व्यवस्था,
- वडा नं. ५ को रुपौलिया–मेवा सडक डुबान समस्या समाधान,
- स्वास्थ्य चौकीमा औषधि अभाव अन्त्य,
- विद्यालय व्यवस्थापन समिति गठन र अतिक्रमित विद्यालय जग्गा फिर्ता,
- मठमन्दिर र बजार व्यवस्थापन,
- कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्ने,
- पटेर्वा चौकमा सिसिटिभी क्यामेरा जडान र
- पटेर्वा खेलमैदान मर्मत लगायतका मागहरू रहेका छन्।
स्थानीय अगुवा तथा कानुन व्यवसायी प्रदीप कुशवाहाले युवाहरूका मागहरू “पूर्णरूपमा जायज” रहेको भन्दै तत्काल सम्बोधन गर्न सरकार र स्थानीय निकायलाई आग्रह गरेका छन् ।
आन्दोलन सातौँ दिनमा प्रवेश गरेपछि युवाहरूले अब आन्दोलनलाई अझ सशक्त बनाउँदै हरनैया चौकबाट पहिलो चरणको प्रदर्शन सुरु गर्ने घोषणा गरेका छन् ।
“हाम्रो माग अब केवल मागमा सीमित छैन, गाउँपालिका अध्यक्षको राजीनामा नै हाम्रो मुख्य एजेन्डा बनेको छ,” आन्दोलनकारीहरूले बताएका छन् ।
यसबीच, गाउँपालिका अध्यक्ष जवाहर साहलाई सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ ।