सप्तरी | जिल्ला प्रशासन कार्यालय सप्तरीले शुभ दीपावली (तिहार), नेपाल संवत र छठ पर्वलाई आपसी सद्भाव, सौहार्द र मर्यादित तवरले मनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ ।
पर्वहरूको अवसरमा सम्भावित जोखिम र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्वारा जारी सूचनामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
सूचनामा विस्फोटक तथा ज्वलनशील वस्तुहरूको प्रयोग, ओसारपसार र बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ । भूइचम्पा, पटाका, आतिशबाजी लगायतका वस्तुहरूको प्रयोगले आगलागी वा जनधनको क्षति हुन सक्ने भएकाले यस्ता क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
त्यस्तै, देउसी–भैलोका कार्यक्रमहरू बेलुका ८ बजेपछि सञ्चालन गर्न नपाइने उल्लेख गर्दै प्रशासनले सांस्कृतिक परम्पराको सम्मानसहित मर्यादित समयमा मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
तिहार र छठ पर्वमा प्रयोग हुने प्लास्टिकजन्य फूल–गुच्छा आयात, निर्यात, बिक्री–वितरण वा भण्डारण नगर्न समेत अनुरोध गरिएको छ । प्रशासनका अनुसार, यस कदमले वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुर्याउनेछ ।
यसबाहेक, चिठ्ठा, जुवा, तास, लङ्गुरबुर्जा लगायतका खेल खेल्ने र खेलाउने कार्यमा संलग्न नहुन आग्रह गर्दै प्रशासनले यस्ता कार्यले सामाजिक बिग्रह निम्त्याउने भएकाले नियन्त्रणमा लिन सशक्त कारबाही गरिने चेतावनी दिएको छ ।
मादक पदार्थ सेवन गरी हो–हल्ला, झगडा वा शान्ति–सुरक्षा खल्बलाउने कार्यमा संलग्न हुनेहरूलाई समेत कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले सबैलाई चाडपर्व सभ्य, शान्त र मर्यादित तवरले मनाई समुदायमा आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको छ ।