सर्लाही | सर्लाही प्रहरीले १९ वर्षअघि भएको हत्या र लुटपाट घटनामा संलग्न एक फरार अभियुक्तलाई लामो समयपछि पक्राउ गरेको छ ।
जिल्लाको चक्रघट्टा गाउँपालिका–१ (साबिकको पडरिया गाविस–१) निवासी राजेन्द्रप्रसाद चौधरीको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले करिब दुई दशकपछि पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्ने व्यक्ति कविलासी नगरपालिका–६ (साबिकको जमुनिया गाविस–६) का ४४ वर्षीय महेन्द्र राय रहेका छन् ।
२०६३ साल माघ ७ गते साँझ जमुनियास्थित मदनपुर बजारबाट पसल बन्द गरी छोरासँग घर फर्किँदै गर्दा चौधरीको हत्या भएको थियो । मोटरसाइकलमा सवार चौधरीलाई मदनपुर पनपिया पोखरी नजिकै महेन्द्र रायसहितका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए ।
घटनापछि चौधरीसँग रहेको करिब १६ हजार रुपैयाँ नगद लुटपाट गरिएको प्रहरीले जनाएको छ । सो घटनापछि मृतकका छोरा सन्तोष चौधरीले भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
हत्या भएको दिनदेखि फरार रहेका महेन्द्र रायलाई हाल लुकिछिपी घरमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सर्लाहीका डिएसपी सरोज राईका अनुसार रायलाई कर्तव्य ज्यान तथा डाँकासम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।