महोत्तरी । भारतको विहार राज्यमा यही कात्तिक २५ गते हुने विधान सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउने उद्देश्यले दुवै देशका सुरक्षा अधिकारीबीच आइतबार संयुक्त बैठक सम्पन्न भएको छ ।
सीमावर्ती भारतको भिठ्ठा थानामा सम्पन्न बैठकमा नेपाल र भारतका सीमा चौकीका प्रमुखहरूको उपस्थिति रहेको थियो । पुपरी एसडिपिओ सुनिता कुमारीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन अवधिभर सीमा सुरक्षालाई सुदृढ बनाउने र आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने विषयमा छलफल गरिएको जनाइएको छ ।
बैठकमा नेपालको महोत्तरी जिल्ला अन्तर्गत मलिबारा प्रहरी चौकीका प्रमुख प्रभु राउत, नैन्ही प्रहरी चौकीका प्रमुख भरतकुमार ठाकुर, भारततर्फका एसएसबी भिठ्ठामोडका असिस्टेन्ट कमान्डेन्ट सुमीतकुमार र निशान्तकुमार, सर्किल इन्स्पेक्टर परशुराम सिंह, सुरसन्ड थाना प्रमुख लालकिशोर गुप्ता, चोरौत थाना प्रमुख मोनी कुमारी, मधुबनी जिल्लाको मधवापुर थाना प्रमुख हर्ष राज, भिठ्ठा थाना उपप्रमुख रजनिश कुमार र सहायक अवर निरीक्षक गोपाल कुमारलगायत अधिकारी उपस्थित रहेका थिए ।
बैठकमा द्विपक्षीय सहयोग, सूचना आदानप्रदान, सीमा सुरक्षामा समन्वय र आपराधिक गतिविधिमाथि निगरानी राख्ने विषयमा सहमति भएको हो । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सीमा क्षेत्रमा संयुक्त गस्ती तीव्र बनाउने र सुरक्षासम्बन्धी जानकारी साझा गर्ने निर्णय गरिएको छ ।
भारतीय सुरक्षातर्फका प्रतिनिधिहरूले फरार अपराधी, लागूपदार्थ तस्कर, मदिरा तथा गाँजा कारोबारीहरूलाई नियन्त्रण गर्न नेपाल प्रशासन र सशस्त्र प्रहरीसँग सहकार्य बढाउन आग्रह गरेका छन् । दुवै पक्षबीच आपसी सहमतिअनुसार, आपराधिक गतिविधिमा संलग्न नागरिकहरूलाई समातेर सम्बन्धित देशको प्रशासनमा सुपुर्दगी गर्ने निर्णय पनि गरिएको छ ।
विहारमा आगामी नोभेम्बरमा हुने विधान सभा निर्वाचन तयारीका लागि जिल्ला समन्वय समितिको बैठक छिट्टै आह्वान गरिने भारतीय अधिकारीहरूले जनाएका छन् ।
महोत्तरीमा रहेका १५ स्थानीय तहमध्ये पाँच वटा — मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिका — भारतसँग प्रत्यक्ष रूपमा सीमा जोडिएका छन् । यी पाँच स्थानीय तहमार्फत करिब ३८.४ किलोमिटर क्षेत्र भारतको सीमासँग जोडिएको छ ।