आसन्न छठपर्व नजिकिँदै गएसँगै पर्सा जिल्लाका पोखरी तथा नदी किनारामा सरसफाइ र सजावटका काम तीव्र गतिमा भइरहेका छन् ।
तराई–मधेसमा विशेष धार्मिक उत्सवका रूपमा मनाइने छठपर्वलाई लक्षित गर्दै वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न पोखरीहरू स्थानीयवासीको सहयोगमा सिँगारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पूरा भएको छ भने अन्य स्थानमा सजावटको तयारी भइरहेको छ ।
पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडीअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाटसहितका पोखरीमा स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ र डेकोरेसनको काम भइरहेको छ ।
प्रत्येक वर्ष छठ मनाउनेहरूको सङ्ख्या बढ्दै गएसँगै बजारमा पूजाका सामग्री किन्नेको भीड पनि बढ्न थालेको छ ।
छठ पूजा व्यवस्थापन समिति, घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुका अनुसार यस वर्षको छठपर्व अघिल्ला वर्षभन्दा झनै भव्य र आकर्षक रूपमा मनाइने तयारी गरिएको छ ।
“गत वर्षभन्दा यस वर्ष अझ आकर्षक पण्डाल र झिलीमिली बत्तीको सजावट हुने छ,” उहाँले बताउनुभयो, “तिहारपछि सजावट र शृङ्गारको अन्तिम काम तीव्र गतिमा हुनेछ ।”
कानुका अनुसार घडीअर्वाको छठ हेर्न भारतको विहार राज्यका विभिन्न जिल्ला तथा नेपालका अन्य सहरहरूबाट समेत दर्शनार्थीहरू आउने गर्छन् । समितिको अनुमानमा यस वर्ष घडीअर्वाको छठमा करिब एक लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
दुई दशकअघि सुरू गरिएको घडीअर्वा पोखरीको छठपर्व अहिले वीरगञ्जको सांस्कृतिक पहिचानको रूपमा स्थापित भइसकेको छ ।
“दर्शनार्थीहरूलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर व्यवस्थापन भइरहेको हो,” अध्यक्ष कानुले बताउनुभयो, “पण्डाल नै मुख्य आकर्षण हो, त्यसैले यसपटक सजावटमा विशेष ध्यान दिइएको छ ।”
घडीअर्वा पोखरीमा हुने छठ व्यवस्थापन र सजावटका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यस वर्ष छठपर्वको मुख्य दिन यही कात्तिक १० गते, कात्तिक शुक्ल षष्ठीका दिन परेको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि आरम्भ भएर षष्ठीका दिन सूर्योपासना गरी सम्पन्न गरिन्छ ।
छठपर्वमा तराई–मधेसकी महिलाहरूले आफ्ना परिवार र सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै सूर्यदेवको आराधना गर्छन् ।