महाेत्तरी | चाडपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् । दसैँदेखि क्रमशः बढ्दै आएको तरकारीको भाउ छठसम्म आइपुग्दा किन्नै नसकिने गरी महँगिएको छ ।
बर्दिबासको साप्ताहिक हाटमा धनुषाको बडहरीबाट तरकारी ल्याउने व्यापारी विन्देश्वर महतोका अनुसार तिहारसम्म प्रतिकिलो १२० रुपैयाँमा बिक्री भएको भ्याण्टा अहिले १४० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
अन्य तरकारीहरूको मूल्य पनि उस्तै गरी बढेको छ। गोलभेंडा प्रतिकिलो १३० रुपैयाँ, पहाडी आलु १०० रुपैयाँ, लोकल काउली १६० रुपैयाँ, ओल १५० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, पिँडालु ८० रुपैयाँ र हरियो खुर्सानी प्रतिपाउ ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
बर्दिबासका होटल व्यवसायी नारायण घिमिरेले तरकारीको अप्रत्याशित मूल्यवृद्धिले दैनिक खर्च व्यवस्थापन गर्न गाह्रो परेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार, जिल्लाका गौशाला, मटिहानी, धमौरा र भंगाहा प्रमुख तरकारी उत्पादन क्षेत्र हुन्। हालैको अविरल वर्षा र बाढीले यी क्षेत्रका करिब १,४९० हेक्टरमा लगाइएका तरकारी बाली डुबानमा परेपछि आपूर्ति घट्दै जाँदा मूल्य वृद्धि भएको हो ।
बाढी र वर्षाको असरले बजारमा तोरी, रायो र लट्टेको सागजस्ता मौसमी हरियो तरकारीसमेत पाउन मुस्किल भएको छ। पहिले मुठाको २० रुपैयाँ पर्ने कर्कलोको साग अहिले ५० रुपैयाँ पुगेको छ भने लहरा गल्नाले लौका, घिरौंला, परवल जस्ता लहरे तरकारीको उत्पादन ठप्प भएको छ ।
हाल भारतीय आलु र प्याजबाहेक अधिकांश तरकारीको मूल्य उच्च छ। केही साताअघि सय रुपैयाँमा तीन किलो पाइने भारतीय आलु पनि अहिले सय रुपैयाँको दुई किलोमा झरेको छ । प्याजको मूल्य भने अहिलेसम्म प्रति किलो ४० रुपैयाँमै स्थिर छ।
यस्तो परिस्थितिमा रामेछाप, खनियाँखर्कलगायत पहाडी जिल्लाबाट आएका स्कुस, मुन्टा, हरियो फर्सी, काँक्रा र धनियाँले बजारमा केही राहत दिएका छन्। रामेछापका व्यापारी नवराज श्रेष्ठका अनुसार बर्दिबासको बिहानी हाटमा नै करिब एक मिनी ट्रक स्कुस बिक्री भएको थियो। “स्कुसको मुन्टा त अघि नै सकियो,” उहाँले बताउनुभयो ।
स्थानीय उत्पादन घट्दा मूल्य बढ्नु सामान्य भए पनि, उपभोक्ताले भने अत्यधिक मूल्य वृद्धिलाई असामान्य भन्दै स्थानीय प्रशासनसँग बजार अनुगमन र नियन्त्रणको माग गर्न थालेका छन् ।