वीरगंज । सूर्यको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ । मधेशमा अहिले चार दिनसम्म मनाइने यो पर्वको रौनक छठका गीत, रंगीन सजावट र सामूहिक भक्ति वातावरणसँगै उत्कर्षमा पुगेको छ ।
गाउँबस्तीमा मानिसहरूको चहलपहल बढेको छ भने जताततै छठका गीत गुन्जिएका छन्। छठपर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठेकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, हरिया तरकारी, मिठाई तथा विभिन्न फलफूल सूर्यदेवलाई अर्घका रूपमा अर्पण गरिने परम्परा छ ।
छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। अर्घ्य दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने चलन छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन्। छठपर्वको अवसरमा संघीय सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले मङ्गलबार थप एक दिन बिदा दिने निर्णय गरेको छ ।





