काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पादकसंगको छलफलका क्रममा प्रसाईंले मुलुक निकै अप्ठेरो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका हुन् । उनले यसअघि आफुहरुले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्चाएर आफू सुध्रिन तयार भएको बताए ।
आफ्ना कारणले मुलुकलाई अप्ठेरो परेको भए आफु देश छाडेर जान पनि तयार रहेको उनको भनाइ छ । ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’
प्रसाईंले सरल भाषामा आफ्ना मागहरु सरोकारवालासमक्ष पुर्याउँदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नुपरेको बताए ।
उनले आफुले केवल देश र गरिव जनताका लागि बोल्दा समेत मुलधारका सञ्चारमाध्यमले आफुलाई कहिले राम्रो नदेखेको गुनासो गरे ।
त्यस्तै उनले अहिले गृहमन्त्रालयले आफुहरुको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गरे ।