सिराहा । लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा सेवा–सुविधा विस्तार र निरन्तर निगरानी हुन थालेपछि बिरामीको सङ्ख्या तीव्र रूपमा बढेको अस्पताल स्रोतले जनाएको छ ।
पहिले विराटनगर र धरानसम्म उपचारका लागि जानुपर्ने बिरामीहरू अहिले यही अस्पतालमा उपचार गराउन थालेका छन् । यसले बिरामीहरूमा अस्पतालप्रतिको भरोसा र विश्वास बढाएको छ ।
स्तरोन्नतिपछि अस्पतालमा आधुनिक ल्याब, डायलाइसिस सेवा, विभिन्न विभागका विशेषज्ञ चिकित्सक, र कुशल मेडिकल सुपरिटेन्डेन्टको सक्रियताले सेवा स्तरमा उल्लेख्य सुधार ल्याएको छ । अहिले अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार भइरहेको अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) रञ्जितकुमार झाले जानकारी दिनुभयो ।
पन्ध्र शय्याको अस्पतालमा हाल सय शय्याको उपचार हुन थालेपछि बिरामीको चाप बढ्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । तर, अस्पतालको जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका कार्य अघि बढ्न नसकेको उहाँको भनाइ छ ।
अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहा गराउन सङ्घीय सरकारको अर्थ मन्त्रालयमा पत्राचार भए पनि निर्णय नहुँदा प्रक्रिया अड्किएको एक वर्ष नाघिसकेको बताइएको छ ।
२०३७ सालमा अस्पताल निर्माण गरिदिएका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले एक बिघा पन्ध्र कठ्ठा जग्गा अस्पतालका नाममा रजिष्ट्रेशन गराउन तयारी जनाएको छन् । तर, लाभकर एक करोड ३५ लाख रुपैयाँ लाग्ने भएपछि सो रकम मिनाहा गराउन पहल भइरहेको प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।
‘‘मधेश प्रदेश सरकारबाट लाभकर मिनाहा गराउन पहल गर्यौं, अहिले सङ्घ सरकारमा गएर अड्किएको छ,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि अब सर्वदलीय पहल आवश्यक छ ।’’
सिराहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीहरूलाई समेत सेवा दिइरहेको यस अस्पतालको स्तरोन्नति आवश्यक भएको भन्दै स्थानीयहरूले जग्गा रजिष्ट्रेशनका लागि माग गरेका छन् । दाता परिवारका प्रतिनिधि मुरारीलाल मुरारकाले जग्गा रजिष्ट्रेशनका लागि तयार रहेको र आवश्यकता परे अझै लगानी गर्न तयार भएको बताउनुभयो ।
तर, लामो समयदेखि प्रक्रिया अड्किएकाले अन्य सहयोगका योजना अघि बढाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताका अनुसार अब प्रदेश, सङ्घ र स्थानीय सरकारबीच समन्वय गरेर जग्गा रजिष्ट्रेशन टुंग्याउने गृहकार्य भइरहेको छ । ‘‘जीर्ण भवन मर्मत, नयाँ भवन निर्माण, चिकित्सक आवास भवन र सिटी स्क्यान सेवा सञ्चालन गर्न जग्गा रजिष्ट्रेशन अत्यावश्यक छ,’’ उहाँले भन्नुभयो ।