वीरगंज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगंज नाका भएर ३८ अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपी ग्यास), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा एक अर्ब छ करोड रुपैयाँले पेट्रोलियम पदार्थको आयात घटेको भन्सार तथ्यांकले देखाएको छ । गत वर्षको पहिलो तीन महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा १६ अर्ब सात करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको भए पनि राजस्व सङ्कलन सन्तोषजनक रहेको छ ।
भन्सार कार्यालयका अनुसार असोज मसान्तसम्म १५ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट छ अर्ब ९६ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
त्यस्तै, तीन महिनाको अवधिमा १० अर्ब ७२ करोड मूल्य बराबरको एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात गरिएको छ । यसबाट सात अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै, सोही अवधिमा सात अर्ब ४९ करोड रुपैयाँ मूल्य बराबरको सात करोड ३९ लाख ७७ हजार २७१ किलोग्राम एलपी ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ ।