सिराहा । धार्मिक पर्व छठको अवसरमा श्रद्धा, भक्ति र सफाइको वातावरणमा खलल पार्दै अज्ञात व्यक्तिले सिरहा नगरपालिका–१५ माडरस्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करिब २५ क्विन्टल माछा मारेका छन् ।
घटनाले स्थानीय समुदाय र माछापालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ । उक्त पोखरी सिरहा नगरपालिका–१५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछापालन गर्दै आएका थिए । नगरपालिका सँगको औपचारिक सम्झौता अनुसार उनले ठेक्का शुल्क बुझाएर व्यवस्थित रूपमा माछा उत्पादन गर्दै आएका थिए ।
तर, छठ पर्वकै दिन बिहान सबेरै, छठघाट सरसफाइको मौका छोपी अज्ञात व्यक्तिले पोखरीमा विष हालिदिएपछि सबै माछा मरेका हुन् ।
सहनीका अनुसार, “पोखरीमा साढे दुई टनभन्दा बढी माछा थिए, जसको बजार मूल्य करिब ७ लाख ५० हजार रुपैयाँ पर्थ्यो । तर, विषका कारण पूरै नष्ट भयो । यस्तो क्रूर कार्य धार्मिक पर्वकै अवसरमा हुनु अत्यन्तै दुःखद र आपत्तिजनक छ,” उनले बताए ।
घटनापछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन् । उनीहरूले छठ पर्वको पवित्रता र सामाजिक सद्भावमा चोट पुर्याउने गरी गरिएको यस कार्यको गम्भीर छानबिन र दोषीलाई कठोर कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले भने, “यो अत्यन्तै निन्दनीय कार्य हो । विष प्रयोग गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ,” भन्ने प्रतिक्रिया दिनुभयो ।
स्थानीय नागरिकहरूले यस घटनालाई धार्मिक सहिष्णुता र सामुदायिक सद्भावमाथिको आक्रमणका रूपमा लिएका छन् । माछापालन व्यवसायमा संलग्न युवा वर्गलाई यस घटनाले ठूलो आर्थिक र मनोवैज्ञानिक आघात पुर्याएको बताइएको छ ।
स्थानीयवासीहरूले भने, “छठजस्तो पवित्र पर्वमा यस्तो अपराध हुनु हाम्रो संस्कृतिमाथिको अपमान हो । तत्काल दोषी पत्ता लगाएर कडा सजाय दिनुपर्छ,” भन्दै कडा प्रतिक्रिया जनाएका छन् ।
यस घटनाले धार्मिक पर्वमा देखिएको अराजकता र असुरक्षाको गम्भीर संकेत दिएको स्थानीयले टिप्पणी गरेका छन् । सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन सर्वसाधारणले माग गरेका छन् ।