धनुषामा यात्रुवाहक बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ ।
शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारमा भएको सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाएका हुन् । विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको यात्रुवाहक बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ठक्करबाट अटोमा सवार धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उनकी ३२ वर्षीया श्रीमती निशा मगर, सोही ठाउँका ठुला मगर र अटो चालक ४० वर्षीय डम्बर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन् ।
उनका अनुसार ठुला मगर र निशा मगरको घटनास्थलमै मृत्यु भएको थियो भने रमेश मगर र अटो चालक राईको उपचारको क्रममा जनकपुर न्युरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मृतक रमेश र निशाका १४ वर्षीय छोरी शीतल मगर र ९ वर्षीय छोरा रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई हाल जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक लखिराम दनुवार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृतकहरूको शव जनकपुर प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।