सर्लाही । सर्लाहीको बरहथवामा नगरपालिका कार्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी रूपमा सभा हललाई बारेर नगरपालिकाको कामकाज सुरु गरिएको छ ।
नगरप्रमुख कल्पनाकुमारी कटुवालका अनुसार पुरानो कार्यालय भवनबाट करिब तीन सय मिटर उत्तरतर्फ रहेको सभा हललाई बारेर नौवटा कोठा बनाएर कार्यालय सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “जसरी पनि नागरिकलाई सेवा दिनै पर्ने भएकाले तत्कालका लागि यस्तो व्यवस्था गरिएको हो ।”
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा बरहथवा नगरपालिका–५ स्थित बजार क्षेत्रमा रहेको नगरपालिका कार्यालयमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा कार्यालय भवन, कागजात, सवारीसाधन र अन्य सामग्री जलेर नष्ट भएका कारण केही दिनसम्म नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो ।
नगरप्रमुख कटुवालका अनुसार हाल सभा हलभित्रका केही ठूला कोठामा दुई÷तीन शाखा राखी जसोतसो कार्यालय सञ्चालन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले असहज परिस्थितिमा सेवा सुचारु गर्न सबै शाखाहरूलाई अस्थायी रूपमा सभा हलमै स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
स्थानीय मदन झाले प्रदान गरेको १२ कट्ठा जग्गामा दुई वर्षअघि निर्माण गरिएको सो सभा हल अहिले असहज परिस्थितिमा अस्थायी कार्यालयका रूपमा प्रयोग भइरहेको छ ।
आगजनीपछि करिब दुई सातासम्म बन्द रहेको नगरपालिकाले जलेको भवनबाटै दाताले उपलब्ध गराएका दुई थान कम्प्युटरको सहयोगमा आंशिक सेवा सञ्चालन गरेको थियो । नगरप्रमुख कटुवालले क्षतिग्रस्त कार्यालय भवनको मर्मत तथा पुनर्निर्माण कार्य चाँडै अघि बढाइने बताउनुभएको छ ।