रौतहट | नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का सभापति तथा वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख राम स्नेही राय यादवले वृन्दावन नगरपालिकामा एउटै कर्मचारीलाई बारम्बार प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइँदै आएको भन्दै आपत्ति जनाउनुभएको छ ।
उहाँले शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मासँग भेट गर्दै शिक्षाका उपसचिव खिमबहादुर भुजेललाई पुनः वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नखटाउन माग गर्नुभएको हो ।
यादवका अनुसार, नगर प्रमुख विनोद राउत कुर्मीको कार्यकाल प्रारम्भ भएदेखि नै शिक्षाका उपसचिव भुजेललाई निरन्तर प्रमुख प्रशासकीय अधिकृतको रूपमा तोकिँदै आएको छ । “नगरपालिकामा बारम्बार एउटै अधिकृतलाई पठाउँदा प्रशासनिक निष्पक्षता र प्रभावकारीता प्रभावित भएको छ,” उहाँले बताउनुभयो ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख शर्माले शिक्षाका उपसचिव भुजेलको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, मन्त्रालयले खटाएका उपसचिव महम्मद शेरे मुस्तफालाई नगर प्रमुख कुर्मीले हाजिर नगराएपछि हाल वृन्दावन नगरपालिकाको खाता समेत रोक्का गरिएको छ ।
मन्त्रालयले शिक्षाका उपसचिव भुजेलको सरुवा कार्यान्वयनका लागि शिक्षा मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतमा पनि भुजेललाई पटक–पटक सरुवा गरेको भए पनि रमाना नलिएको कारण सरुवा कार्यान्वयन हुन नसकेको बताइएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनपछि नगर प्रमुख विनोदप्रसाद कुर्मी विजयी भएपछि भुजेल प्रमुख प्रशासकीय अधिकृतका रूपमा वृन्दावन नगरपालिकामा हाजिर भएका थिए। त्यसयता केही समय स्वास्थ्य सेवाका अधिकृत रासनारायण पटेल र उपसचिव ओमप्रसाद पाण्डेले पनि सो जिम्मेवारी सम्हालेका थिए, तर लामो समयदेखि शिक्षाका उपसचिव भुजेल नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदै आएका छन्।
मन्त्रालयले २०८१ माघ ९ गते भुजेलको सरुवा शिक्षा मन्त्रालयमा गरे पनि उहाँले रमाना लिन अस्वीकार गरेपछि २०८१ फागुन २८ गते पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । सोही क्रममा २०८२ असोज ७ गते पुनः शिक्षा मन्त्रालयमा सरुवा गर्दा पनि रमाना नलिएका कारण असोज २२ गते मन्त्रालयले वृन्दावन नगरपालिकालाई पत्राचार गरी तत्काल रमाना दिएर पठाउन निर्देशन दिएको थियो ।
यता, वृन्दावन नगरपालिकामा मन्त्रालयले खटाएका उपसचिव शेरे मुस्तफालाई नगर प्रमुख कुर्मीले हाजिर नगराएपछि मन्त्रालयले भुजेलको नाममा रहेको खातासमेत रोक्का गर्दै मुस्तफाको नाममा खाता सञ्चालन गर्न निर्देशन दिएको थियो। तर एक महिनापछि मन्त्रालयले मुस्तफालाई रौतहटकै देवाही गोनाही नगरपालिकामा सरुवा गरेको छ ।
राजनीतिक र प्रशासनिक असमञ्जसका कारण वृन्दावन नगरपालिकाको प्रशासनिक कार्य सम्पादनमा असर परेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।