मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध चर्किँदै जाँदा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरिएको छ ।
विरोध प्रदर्शनका क्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा समेत माग गरेका छन् । प्रदेश प्रमुखको कार्यालय परिसरमा पुगेका कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद तथा कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरूले भण्डारीको कार्यकक्षका कुर्सी, टेबल र अन्य सामान तोडफोड गरेका थिए भने राष्ट्रिय झण्डा समेत फ्याँकिएको छ ।
त्यसअघि मधेश भवन अगाडि गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीसँग धकेलाधकेल र झडप पनि भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (२) अनुसार ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर, कांग्रेस, जसपा र लोसपाले उक्त निर्णयलाई ‘संवैधानिक र राजनीतिक रूपमा गलत’ भन्दै विरोध जनाएका छन् ।
ती दलहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया तत्काल खारेज गरी प्रदेश प्रमुख भण्डारीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।