सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड, आगजनी र चिकित्सकमाथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।
अस्पतालका अनुसार आइतबार एनआइसियू वार्डमा उपचाररत नवजात शिशु माथि विद्युत् सर्ट भएर बलिरहेको चिम (बल्ब) खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए । सो क्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि समेत हातपात गरिएको बताइएको छ ।
उक्त घटनापछि अस्पताल प्रशासनले आइतबार राति एक सूचना जारी गर्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म र दोषीमाथि आवश्यक कारबाही नहुँदासम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीहरू सास्तीमा परेका छन् ।
आइतबार साँझ एनआइसियूमा चिम खसेर रूपनी गाउँपालिका–स्थित हर्दियाका राम यादवका नवजात छोरा गम्भीर घाइते भएका थिए । घाइते शिशुलाई थप उपचारका लागि विराटनगर लगिएको शिशुका बाबु यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “शिशुको एनआइसियूमा उपचार भइरहँदा शय्या जलेर पोलुन्जेल नर्स के गर्दै थिई? तत्काल ध्यान दिएको भए यति ठूलो घटना हुने थिएन।”
पीडित परिवारले शिशुको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोरिनुपर्ने र घटनाको सम्पूर्ण जिम्मेवारी पनि अस्पतालले लिनुपर्ने माग गरेका छन् ।
अस्पताल प्रशासनले भने घटनाको बारेमा अनुसन्धान अघि बढाइएको र आवश्यक सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।