बारा | बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गको बीच बाटोमा हात्ती अचानक सडकमा आइपरेर सवारीसाधनमा आक्रमण गरेको थियो । सो क्रममा ना.४ ख १८३० नम्बरको ट्रकका चालक, जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरी हात्तीको आक्रमणमा परेका हुन् ।
प्रहरीका अनुसार हात्तीको आक्रमणपछि चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिणतर्फको जंगलमा पुगेका थिए। त्यही क्रममा हात्तीले आक्रमण गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिनुभयो ।
हाल हात्तीलाई जंगलतर्फ धपाउने कार्य जारी रहेको छ भने अन्य केही सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको छ ।