जनकपुरधाम । धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको हंसपुर नगरपालिका–७, नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा सोही टोलकी ४५ वर्षीया पवित्रा देवी मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चन्द्रकला देवी दास यही कात्तिक २४ गते (सोमबार) राति करिब ९ बजे आफ्नै घरबाट करिब पाँच सय मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन् ।
अनुसन्धानका क्रममा आरोपी पवित्रा देवी मण्डलले मृतक दासको साथमा रहेका सुनचाँदीका गरगहना लुटेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ । बरामद गरगहनामा दुई थान झुम्का, दुई थान बाली, दुई थान मंगलसुत्र र दुई थान खुट्टामा लगाउने कडा रहेका छन् ।
त्यसैगरी मृतकलाई प्रहार गर्न प्रयोग गरिएको धारिलो हतियार (दाउ) समेत प्रहरीले बरामद गरेको छ ।
धनुषा प्रहरीले पवित्रा देवी मण्डललाई नियन्त्रणमा लिएर जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।