जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीको नाममा विशेष सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्था, आन्दोलन र सरकारका आगामी पहलबारे धारणा सार्वजनिक गर्नुभएको छ ।
सम्बोधनमा उहाँले मधेशमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै दिगो समाधानको बाटो भएको बताउँदै आन्दोलनरत दलहरूलाई वार्ताका टेबलमा बस्न आग्रह गर्नुभयो । “सडकमा आन्दोलन गर्नुभन्दा आउनुस्, बसेर वार्ता गरौँ, समस्याको समाधान मिलेर खोजौँ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री यादवले आफू कुनै दलसँग प्रतिस्पर्धामा नरहेको स्पष्ट गर्दै गरिब जनताको हित, प्रदेशको शान्तिसुरक्षा र समृद्धि नै आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्नुभयो ।
उहाँले कोशी प्रदेशमा पनि राजनीतिक असन्तुष्टि रहेर पनि दलहरूले सडक संघर्षमा नउत्रिएको उदाहरण दिँदै मधेशमा राजनीतिक संयमता र परिपक्वता देखाउन आग्रह गर्नुभयो ।
सम्बोधनका क्रममा मुख्यमन्त्री यादवले भारतीय दूतावासको हस्तक्षेप भएको आरोप पनि सार्वजनिक गर्नुभयो । जेनजी आन्दोलनपछिको परिस्थितिमा सरकार गठनदेखि मन्त्री चयनसम्म दूतावासको चासो देखिएको दाबी उहाँले गर्नुभयो ।
उहाँका अनुसार आफू र मन्त्रीहरू अहिले सुरक्षा चुनौतीको बीचमा छन् ।
यसै क्रममा मुख्यमन्त्री यादवले नयाँ पहल घोषणा गर्दै अबदेखि प्रत्येक बिहान ७:१५ देखि ८:०० बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने जानकारी गराउनुभयो । आम नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या तथा सुझाव सुन्ने मुख्य उद्देश्य रहेको बताइएको छ ।