जनकपुरधाम । मधेश प्रदेशसभाका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय सर्वोच्च अदालतले स्थगित गर्दै अस्थायी रूपमा कार्यान्वयन नगर्न आदेश दिएको छ । आदेशसँगै विवादमा परेका ती पाँचै सांसदको पद यथावत रहेको छ ।
सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै सभामुख रामचन्द्र मण्डलले गरेको निर्णय तत्कालका लागि रोकेको हो ।
गत कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी नेपाल (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच सांसदलाई लगातार १० दिन प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गरेका थिए ।
पदमुक्त सूचीमा जसपाका मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद साह र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह रहेका थिए ।
सभामुखको निर्णयविरुद्ध प्रभावित पाँचै सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै पदमुक्त प्रक्रिया असंवैधानिक र नियमविपरीत भएको दाबी गरेका थिए ।