काठमाडौं | नेकपा (एमाले) की नेतृ एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरामा भएको हिजोको घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले एमालेका नेताहरुलाई रोक्नका लागि षड्यन्त्र गरेको आरोप लगाएकी हुन् । उनका अनुसार सरकारले चुनाव गर्ने वास्तविक नियत नै नराखेको छ । उनले भनिन्, “हिजोको जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ । हिजोको घटना सरकारले गराएको हो। सरकारले एमालेका नेताहरुलाई रोक्नुपर्छ, कांग्रेसका नेताहरुलाई रोक्नुपर्छ भनेर हो । हिजोको घटना त सरासर सरकारले नै मिलेर गराएको छ ।”
बुधबार सिमरा एयरपोर्ट हुँदै कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतको आगमन थाहा पाएपछि जेन–जी समूहले अवरोध गरेका थिए । उक्त अवरोधका कारण हिजो सिमरा उड्ने फ्लाइट रद्द भएको थियो ।
नेतृ साहले भनिन्, “हामीले चाहेको भए एकमिनेट मै खरानी हुन्थ्यो तर हामी शान्तिको पक्षमा छौँ । एमाले पार्टी कहिल्यै त्यो बाटो अपनाउँदैन । पार्टी सधैं जनताको पक्षमा र जनताको सेवकको रूपमा लागिरहन्छ ।”
साथै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि हत्या गर्ने नियतले भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगर्न चाहेको आरोप पनि लगाएकी छिन् ।