सप्तरी | विष्णुपुर गाउँपालिका–५ मझाउ टोलकी २२ वर्षीया सुमन कुमारी मण्डल विवाह भएको केही दिनमै दाइजो नल्याएको आरोपमा घरनिकाला भएको पीडा लिएर अहिले न्यायका लागि भौतारिरहेकी छिन् ।
सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका–७ सडेपाराका राधेश्याम मण्डलसँग विवाह भएको थियो । नयाँ जीवन थाल्ने सपना लिएर सुरु गरिएको वैवाहिक जीवन चार दिनमै भत्कियो ।
चार दिनमै घरनिकाला
मागेअनुसार दाइजो नल्याएको भन्दै श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले आफूलाई निर्घात कुटपीट गरी घर निकालेको सुमनले राजविराजमा पत्रकारहरूसँग बताइन् ।
उनका अनुसार विवाह दर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि ससुराली पक्षले नमानेर उल्टै परिवारका सबै सदस्यबाट निरन्तर शारीरिक तथा मानसिक यातना दिइएको थियो ।
“अर्को विवाह गर्ने बाटो खुलेको होस् भन्ने चाहना थियो”
श्रीमानले दोस्रो विवाह गर्न सहज होस् भन्ने मनसायले आफूलाई यातना दिइएको सुमनको आरोप छ। ससुराली पक्षले घरमा बस्न अस्वीकार गरेपछि उनी लामो समयदेखि माइती घरमै बस्दै आएकी छन् ।
दाइजो दिए पनि अझ धेरै माग
दुवै परिवारको सहमतिमा भएको विवाहका क्रममा दुई लाख ५० हजार रुपैयाँ नगद, आधा तोला सुन, लत्ताकपडा, भाँडाकुडा तथा फर्निचर दिइएको सुमनका बुवा कृष्णदेव मण्डलले बताए ।
उनका अनुसार पछिल्ला दिनमा ससुरालीले दाइजोका थप रूपमा पाँच कठ्ठा जग्गा माग्दै दबाब दिन थाले, असमर्थता जनाएपछि छोरीलाई शारीरिक तथा मानसिक यातना दिइयो ।
न्यायका लागि प्रक्रियामा
छोरीमाथि हिंसा गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरी हुँदै अदालतसम्म मुद्दा लिएर पुगेको कृष्णदेवले बताए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा सुमनका श्रीमान राधेश्यामसँग सम्पर्क हुन सकेन ।