सप्तरी | सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियाबाट बिहीबार राति प्रहरीले ९७८ किलो गाँजासहित सुनसरी धरान–१३ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो ।
बिहीबार राति करिब १०:३० बजे पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरामा प्लाष्टिकले प्याक गरी राखिएको अवस्थामा ९७८ केजी गाँजा बरामद गरिएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्ले नेतृत्वको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा गाँजा, ट्रक र चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिएका छन् ।