वीरगंज | कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगंजका सबै गोदाम हाल रासायनिक मलले भरिएका छन् । कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार फरक–फरक कन्साइन्मेन्टलगायत विगतका मलसमेत लगातार भित्रिँदा गोदाम अभाव भएको र बाध्यकारी रूपमा नयाँ गोदाम भाडामा लिनु परेको हो ।
वीरगंजस्थित कार्यालय परिसरमा रहेका चार, नेसनल ट्रेडिङका दुई तथा भुटनदेवीमा रहेका छ गरी २६ हजार मेट्रिक टन भण्डारण क्षमताका सबै गोदाम भरिएपछि १० हजार मेट्रिक टन क्षमता भएका थप दुई गोदाम भाडामा लिई मल राख्न थालिएको कार्यालयले जनाएको छ ।
मधेश प्रादेशिक कार्यालय वीरगंजबाट मधेश प्रदेशका कलैया, चपुर, ढल्केबर, नवलपुर तथा बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा रासायनिक मल ढुवानी हुने गर्छ । पर्सा र गोरखा जिल्लाका लागि भने वीरगंज कार्यालयले प्रत्यक्ष रूपमा मल वितरण गर्दै आएको छ ।
कामु प्रादेशिक प्रमुख पाण्डेयका अनुसार आपूर्तिकर्ता कम्पनी इन्डियन पोटास लिमिटेड (आइपिएल) का दुई, आदित्य बिरला तथा सन इन्टरनेसनका एक-एक गरी चार कन्साइन्मेन्टअन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डिएपीमध्ये सात/आठ प्याक मल भित्रिँदै छन् । एक प्याकमा ५० हजार बोरा अर्थात् २,५०० मेट्रिक टन मल हुन्छ ।
मङ्सिर २ गते साँझसम्म वीरगंजका गोदाममा १२ हजार ४०० मेट्रिक टन युरिया, १३ हजार ६०० मेट्रिक टन डिएपी, १,२९५ मेट्रिक टन पोटास र ५६ टन कृषि चुन मौज्दात रहेको पाण्डेयले जानकारी दिए । पछिल्लो समयमा आएको मल भाडामा लिइएका नयाँ गोदाममा राखिएको भएकाले कति परिमाण आइपुग्यो भन्ने यकिन विवरण एक–दुई दिनमै आउने उनले बताए ।
उनका अनुसार कुल आयात भएको मलमध्ये १० प्रतिशत बफर स्टकका रूपमा राख्ने व्यवस्था रहेको छ । गोदाममै रहेका मलको अन्तिम तथ्यांक आएपछि कति बफर स्टक राख्ने भन्ने पनि निश्चित गरिने कार्यालयले जनाएको छ ।
कोटा अनुसार युरिया/डिएपी वितरण हुने परिमाणः
-
वीरगंज महानगरपालिका: १३२ मेट्रिक टन युरिया, १४१ मेट्रिक टन डिएपी
-
ठोरी गाउँपालिका: ४० युरिया, ४२ डिएपी
-
जिराभवानी गाउँपालिका: ५१ युरिया, ५५ डिएपी
-
जगरनाथपुर गाउँपालिका: ७० युरिया, ७४ डिएपी
-
पटेर्वा सुगौली गाउँपालिका: ४७ युरिया, ५० डिएपी
-
सखुवा प्रसौनी गाउँपालिका: ५६ युरिया, ५९ डिएपी
-
बहुदरमाई नगरपालिका: ४७ युरिया, ५० डिएपी
-
पोखरिया नगरपालिका: ४२ युरिया, ४४ डिएपी
-
कालिकामाई गाउँपालिका: २१ युरिया, २२ डिएपी
-
धोबिनी गाउँपालिका: २९ युरिया, ३० डिएपी
-
छिपहरमाई गाउँपालिका: ३० युरिया, ३२ डिएपी
-
पकाहा मैनपुर गाउँपालिका: २९ युरिया, ३१ डिएपी
-
विन्ध्यवासिनी गाउँपालिका: २६ युरिया, २७ डिएपी
सहकारी संस्थाले स्थानीय तहको सिफारिस लिएर आएपछि कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगंजबाट मल वितरण गरिने कार्यालयले जनाएको छ ।