सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन शुक्रबार जनकपुरधाममा परम्परागत फूलबारी लिला भव्य रूपमा मनाइँदै छ ।
त्रेतायुगमा राम–सीताको पहिलो भेटका रूपमा वर्णित प्रसंगलाई स्मरण गर्दै आज साँझ विवाहमण्डपस्थित पुष्पबाटिकामा राम, लक्ष्मण र जानकीका स्वरूपमा सजिएका व्यक्तिहरूलाई घुमाइएकाे थियो ।
जनकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन आएका राम–लक्ष्मण जनकपुरको फूलबारी पुगेका बेला राम–सीताको पहिलो नजर भेट भएको धार्मिक मान्यता रहेको छ । यही प्रसंगको पुनर्स्मरणसहित आज हजारौँ भक्तजनले पुष्पबाटिकामा अवलोकन गरेका छन् ।
महोत्सवको पहिलो दिन बिहीबार राम–लक्ष्मणलाई नगरदर्शन गराइएको थियो । विवाहपञ्चमी महोत्सव आगामी ६ दिनसम्म जारी रहनेछ । शनिबार धनुषयज्ञ, आइतबार तीलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयंवर तथा शुभविवाह र बुधबार रामकलेवा कार्यक्रम आयोजना हुनेछ ।
धार्मिक र सांस्कृतिक रंगले रंगिएको जनकपुरधाममा भक्तजनको भीड दिन प्रतिदिन बढ्दै गएको छ ।