नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुन प्रहार गरेका छन् ।
बस्नेत सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका बेला उनी एयरपोर्ट गेटबाट बाहिर निस्कँदै गर्दा बेलुन प्रहार भएको हो । युवा संघका नेता अरुण गुरुङका अनुसार युवा समूहले रातो रङ घोलिएको पानी भरिएको बेलुन बस्नेत चढेको सवारीतर्फ प्रहार गरेका थिए । घटनाकै क्रममा उनीहरूले बस्नेतविरुद्ध नाराबाजी पनि गरेका थिए ।
उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र वडा नं. १ का २५ वर्षीय सञ्जोग गौतम रहेका छन् ।
बस्नेत इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन बिहान काठमाडौंबाट आएका थिए । उनी हाल कार्यक्रमस्थल इटहरीतर्फ प्रस्थान गरिसकेका छन् ।