जनकपुरधाम | श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीका कारण जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।
प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मङ्सिर ८ देखि १० गतेसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, “विवाह महोत्सवको भीड व्यवस्थापन र श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै विद्यालयहरू बन्द गरिने निर्णय गरिएको हो ।”
विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ ।
साथै विद्यालयहरूले शौचालय र पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरेका छन् ।
