रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक २५ वर्षीया महिलाको आफ्नै परिवारका सदस्यको मिलेमतोमा विभत्स रूपमा हत्या गरिएको घटना बाहिरिएको छ ।
भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरी घरकै भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको हो । आज प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे उद्घाटन गरेकै दिन राैतहटमा यस्ताे विभत्स घटना बाहिरिएकाे छ ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो । मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूले मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी गराएकाे छ । मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा रहेको छ ।
घटना गत कात्तिक १८ गते माइतीमा भएको विवाह समारोहमा नातामा भतिजो पर्ने ‘गुड्डु’ भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा भेटिएपछि सुरु भएको अनुमान गरिएको छ । दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका पिता ताज मोहम्मदले बताएकाे छ ।
ताज मोहम्मदका अनुसार सोमबार राति घरमै दिदीको हत्या भइरहेको देखेका खातुनका भाई शेख आस मोहम्मदलाई परिवारका सदस्यले ‘हल्ला गरिस् भने तिमीलाई पनि मारिदिन्छौँ’ भन्दै धम्की दिएपछि उनी घटनास्थलबाट भाग्न सफल भएकाे दाबी गरेका छन् । उनले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको समेत परिवारजनले बताएका छन् । प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको छ र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएकाे छ । घटनास्थलबाट एक चक्कु बरामद गरिएको छ।
खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको राैतहट प्रहरीकाे दाबी छ ।
