जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको सातौँ दिन बुधबार जनकपुरधाममा परम्परागत ‘रामकलेवा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जानकी मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा भारतको अयोध्याबाट आएका जन्ती (जयन्ती)लाई विशेष सत्कारसहित भोजन गराइएकाे छ ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत प्रत्येक वर्ष झैँ यस वर्ष पनि अयोध्या–जनकपुर बीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले रामकलेवा कार्यक्रम आयोजना गरिएको हो । जनकपुरका पुजारी, स्थानीयवासी तथा दर्शनार्थीले अयोध्याबाट आएका पाहुनालाई सम्मानपूर्वक भोजन ग्रहण गराएका थिए ।
कार्यक्रममा सहभागी जन्ती प्रतिनिधिले जनकपुरवासीको सम्मान, सद्भाव र सत्कारले आफूहरूलाई भावविभोर बनाएको बताए। विवाहपञ्चमी महोत्सवको सातौँ दिन मनाइने रामकलेवा मिथिला–अयोध्या मैत्री र सांस्कृतिक एकताको प्रतीक मानिन्छ ।