धनुषाको जटही माइती र ठेडा ससुराली भएकी २७ वर्षीया रोशनी झा (मिश्रा) जनकपुरधाममा शंकास्पद अवस्थामा मृत फेला परेकी छन् ।
विहीबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीमा घटना भएको हो । परिवारका अनुसार रोशनीको घाँटीमा ठूलो चोट/दाग देखिएको र श्रीमान् प्रशान्त मिश्राले दिएको बयान पनि शंकास्पद रहेको भन्दै उनी हत्या भएको हुनसक्ने दाबी गरिएको छ । मृतकका आमा–बुवासहित परिवारजनले प्रशान्त मिश्रालाई घटनामा संलग्न भएको आरोप लगाएका छन् ।
परिवारले दिएको जानकारीअनुसार रोशनीले केही दिनअघि मात्र आमाबाट घर निर्माणका लागि १५ लाख रुपैयाँ सापटी लिएकी थिइन् ।
सो रकम उपयोगबारे दाम्पत्यबीच केही समयदेखि विवाद हुँदै आएको उनीहरू बताउँछन् । घटना स्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएकाे छ । शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । “घटनाको प्रकृति अत्यन्त संवेदनशील छ, सम्पूर्ण पक्षका बयान लिइँदैछ,” एक प्रहरीले जानकारी गराएकाे छ ।
रोशनीका परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आरोपितलाई कारबाही गर्न आग्रह गरेका छन् ।