सप्तरी । कञ्चनरूप नगरपालिकामा शनिबार भएको घरेलु हिंसाको घटनामा एक महिला श्रीमानकै खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी छन् ।
नगरपालिका–१२ का ३५ वर्षीय कपिल सदाले आफ्नी ३० वर्षीया श्रीमती रुबिनादेवी सदाको टाउकोमा खुकुरी प्रहार गरेका छन्। घटना क्रममा रुबिना गम्भीर घाइते भई बेहोस हुने अवस्थामा पुगेकी थिइन् ।
खुकुरी प्रहारबाट टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ। हाल उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मदिरा सेवन गरेका अवस्थामा आक्रमण गर्ने कपिल सदालाई प्रहरीले घटनापछि नियन्त्रणमा लिएको छ । पक्राउ परेका कपिलमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।