प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफूले उत्तिकै सम्मान राख्ने भन्दै हालैका अभिव्यक्तिबारे उठेका टिप्पणी र आलोचना भ्रममा आधारित रहेको स्पष्ट पारेकी छन् ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा व्यक्त गरेका भनाइप्रति आएको प्रतिक्रियापछि उनले सोमबार स्पष्टीकरण सार्वजनिक गरेकी हुन् । प्रधानमन्त्री कार्कीका अनुसार आफूले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई लक्षित गरेर होच्याउने उद्देश्य वा नियतसहित गरिएको थिएन । उनले भनिन्, “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन् । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।”
मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमान समुदायबारे पुरातन संस्कृतिमा हुने उदाहरण सहितकाे अभिव्यक्ति दिएकी थिइन् । उक्त कार्यक्रममा उनले मुस्लिम समाजभित्र महिलामाथि हुने व्यवहार र केही देशहरूमा महिलामाथि कायम रहेको प्रतिबन्धबारे टिप्पणी गरेकी थिइन् । उनले महिलालाई ‘जिउँदै गाड्ने’, स्वतन्त्रता नदिने, पढ्न नदिने प्रवृत्ति कतिपय मुस्लिम देशमा देखिएको उल्लेख गरेपछि मुस्लिम समुदायका केहि व्यक्तिहरूले आलोचना गरेका थिए ।
उक्त टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा विभिन्न समूहहरूले प्रधानमन्त्रीको अभिव्यक्ति धर्म विशेषप्रति पूर्वाग्रहसहित गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्कीले समावेशी समाज, धार्मिक सद्भाव र सहिष्णुतामा आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै धर्मका मूल्य–मान्यताप्रति सम्मान प्रकट गरेकी हुन् ।