वीरगंज । स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस वर्ष यात्रा डेलीका पत्रकार आशु कुमार सर्राफलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा आयोजित कार्यक्रममा सर्राफलाई नगद २१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्राफलाई चेक र सम्मानपत्र हस्तान्तरण गर्दै जिम्मेवार, तथ्यपरक र सामाजिक सद्भाव कायम राख्ने पत्रकारिताको आवश्यकता आजको समयमा झनै बढेको बताए । उनले अपुष्ट र उत्तेजनापूर्ण सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै पत्रकारले तथ्य जाँच, विश्वसनीय स्रोत र आचारसंहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
समाजवादी प्रेस संगठन नेपाल, पर्सा जिल्ला समितिका अध्यक्ष शम्भुकुमार सुमनको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले स्वर्गीय नरेश सर्राफ निडर, इमानदार, सत्यनिष्ठ तथा निष्पक्ष पत्रकारिताको उदाहरण भएको स्मरण गरे । उनी स्थानीयदेखि राष्ट्रिय मुद्दासम्म जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउने व्यक्तित्व भएको र उनको पत्रकारिताबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा राखियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले स्वर्गीय सर्राफ महासङ्घको कार्यसमिति सदस्यसमेत रहेको स्मरण गर्दै उनको स्मृति पुरस्कारलाई संस्थागत रूपमा निरन्तरता दिनुपर्ने बताए ।
महासङ्घ पर्साका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताप्रतिको जनविश्वास घट्दै गइरहेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापना गर्नु सबैको साझा दायित्व भएको बताए ।
यसैगरी मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्ष मनोज पटेललगायतका वक्ताहरूले सर्राफलाई निष्पक्षता, जनहित र समाजसेवामा समर्पित पत्रकारको आदर्श व्यक्तित्वका रूपमा स्मरण गरे ।
सम्मान ग्रहण गर्दै पत्रकार आशु कुमार सर्राफले पुरस्कारले आफूलाई अझ जिम्मेवार, तथ्यपरक र समाजमुखी पत्रकारिता गर्न प्रोत्साहन मिलेको बताए ।
कार्यक्रममा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सर्राफका आफन्तलगायतको उपस्थिति रहेको थियो ।