जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्र अपरिचित तथा परिचय नखुलेका शंकास्पद व्यक्तिहरू प्रवेश गर्न सक्ने सम्भावना देखिएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ ।
विभिन्न सञ्चार माध्यममा आएका समाचार, स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा दिएका ध्यानाकर्षण पत्रपछि सीमावर्ती नाकाहरू हुँदै असामान्य ढंगले मानिसहरूको आवागमन बढ्न थालेको निष्कर्ष निकाल्दै प्रशासनले कडाइ गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल–भारत खुला सीमा क्षेत्रको संवेदनशीलता, पछिल्लो समय बढेको आपराधिक गतिविधि, नक्कली परिचयपत्र प्रयोग गर्ने घटना तथा अवैध व्यापार–व्यवसाय सम्बन्धी जोखिम बढिरहेका कारण सुरक्षा निकायलाई सीमाक्षेत्रमा चेकजाँच कडाइ गर्न निर्देशन दिइएको सूचनामा भनिएकाे छ ।
शंकास्पद व्यक्ति देखिए तत्काल सूचना दिन आग्रह
प्रशासनले अपरिचित वा असामान्य रुपमा घुमफिर गर्ने व्यक्ति, समूह वा समुदाय जिल्लाभित्र काेहि व्यक्ती देखिएमा नजिकैको प्रहरी कार्यालय, सशस्त्र प्रहरी पोस्ट वा स्थानीय प्रशासनलाई तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । यसका साथै परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन, कुनै पनि कामकाजमा नलगाउन तथा उनीहरूसँग असामान्य गतिविधि देखिए तत्काल रिपोर्टिङ गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अनुरोध गरिएको छ ।
सुरक्षा संयन्त्र सक्रिय
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलकाे हस्ताक्षरित सूचनामा सीमाक्षेत्रमा परिचालन गरिएका प्रहरी, सशस्त्र प्रहरी तथा आवत जावत गर्ने प्रवेश बिन्दुहरूमा मोबाइल चेकजाँच समेत बढाइएको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार पछिल्लो एक महिनादेखि वीरगंज आसपासका नाकाहरूमा मानव तस्करी, अवैध सामान ओसारपसार, नक्कली नोट कारोबार तथा सीमापारीका समूहहरूको गतिविधि देशका अन्य नाकाहरूमा बढेको देखिएकाले निगरानीमा कडाइ गरिएको जनाएकाे छ । प्रशासनले जारी गरेको सूचनालाई स्थानीय तहमा समेत सूचना प्रवाह गर्ने भनिएकाे छ ।
सुरक्षा निकायका अधिकारीहरूले सीमाक्षेत्रको सुरक्षा सम्भावित जोखिमले प्रभावित हुने भएकाले नागरिक–समुदायको सक्रिय सहयोग महत्वपूर्ण रहेको टिप्पणी जनाएकाे छ ।