रौतहट । रौतहटको ईशनाथ नगरपालिका–४ लत्मरि टोलबाट ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी मठिया, महुलिया तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट मठियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सक्कलीजस्तो देखिने नक्कली नोट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल रोक्न खोज्दा सवार तीनै जना भाग्ने प्रयास गर्दै खेततर्फ नक्कली नोट फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर नोट समेत बरामद गरेको प्रवक्ता बस्यालले बताउनुभयो ।
प्रहरीका अनुसार खेतमा फालिएको अवस्थामा भेटिएका एक हजार दरका ११८ थान नक्कली नोट तथा तीन थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ पर्नेमा रौतहट देवाही–गोनाही नगरपालिका–४ का २१ वर्षीय गेनालाल पटेल, सोही ठाउँका २० वर्षीय अजय पटेल तथा भारतको पूर्वी चम्पारण चैनपुर–२ का २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।