सप्तरी । सप्तरीको राजविराजमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी एक दिने तालिम सुरु भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ सप्तरीको समन्वयमा बुधबारदेखि तालिम प्रारम्भ गरिएको हो ।
तालिममा सप्तरीका ५० जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको छ। उद्घाटन सत्रमा वक्ताहरूले एआईको सदुपयोगभन्दा यसको दुरुपयोग तीव्र रूपमा बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले एआईको दुरुपयोग रोक्न सम्बन्धित निकायले विशेष चासो दिन आवश्यक रहेकोमा जोड दिए ।
उद्घाटन सत्रमा आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका वैद्यनाथ झा, मुरलीप्रसाद यादव, व्यासशङ्कर उपाध्याय, उपाध्यक्ष रामनारायण विश्वासलगायतले एआई प्रयोगले ल्याउने फाइदा र बढ्दो जोखिमबारे आफ्नो धारणा राखे ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिने बताइएको छ ।