भारतसँग सीमा जोडिएका बाराका विभिन्न नाकाहरूमा पनी जिल्ला प्रशासन कार्यालय बाराले विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
भारतीय भूभाग हुँदै तेस्रो मुलुकका नागरिकहरूले अवैध रूपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेको निष्कर्ष निकाल्दै बारा प्रशासनले जिल्लाका सबै सुरक्षा निकायलाई सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाउन निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार भारतसँग जोडिएको ६० किलोमिटर सीमा क्षेत्रमा करिब ९० वटा प्रवेश विन्दु पहिचान गरिएको छ ।
भट्टराईले भने, ‘‘हाम्रो भारतसँग जोडिएको ६० किलोमिटर क्षेत्रमा ९० वटा सीमा वारपार गर्न सकिने विन्दु छन्, जसमा अहिले विशेष चेकजाँच र निगरानी सुरु गरिएको छ ।’’ उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सुरक्षा संरचनालाई सीमा क्षेत्रमा कडाइपूर्वक अनुगमन गर्न र शंकास्पद गतिविधि देखिए तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।
बाराको सिम्रौनगढ नाकासहित केही नाकाहरूमा पछिल्ला दिनमा शंकास्पद व्यक्तिहरूको गतिविधि बढेको रिपोर्ट आएपछि सुरक्षा झन् कडाइ गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सीमा क्षेत्रमा अवैध आवतजावत, मानव ओसारपसार, गैरकानुनी व्यापार तथा अदृश्य समूहहरूको गतिविधि रोकथामका लागि स्थानीय समुदायको सहकार्य अनिवार्य रहेको बताउँदै सर्वसाधारणलाई सतर्क रहन अपिलसमेत गरेको छ ।