महोत्तरीको हलखोरी क्षेत्रमा सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा एक भारतीय नागरिक अवैध हतियारसहित पक्राउ परेका छन् ।
जिल्लाको एकडारा गाउँपालिका–४ स्थित हलखोरी चोकमा बुधबार साँझ रोकिन लगाइएको मोटरसाइकलबाट कटुवा पेस्तोल फेला परेपछि उसको पक्राउ गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार भारतबाट नेपाली क्षेत्रमा प्रवेश गरेको होन्डा साइन मोटरसाइकलको सिटमुनि लुकाइएका एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद गरिएको हो । “नियमित चेकजाँचका क्रममा मोटरसाइकल रोकेपछि सिटमुनि लुकाएर राखिएको हतियार फेला परेको हो,” उनले बताए ।
हतियार भेटिएलगत्तै चालकलाई नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिए । पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सीतामढी जिल्लाअन्तर्गत पटदौरा ग्राम पञ्चायतका २६ वर्षीय सरोजकुमार कुर्मी रहेको प्रहरीले जनाएको छ ।
कुर्मीलाई प्रारम्भिक बयान लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।